काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई बिनाशर्त रिहा गर्न सरकारसँग माग गरेको छ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै फरक विचार र मान्यताका कारण प्रसाईँलाई पटक–पटक पक्राउ गरिएको आरोप लगाएका छन्। विज्ञप्तिमा प्रसाईँमाथि दुःख दिने, निरुत्साहित गर्ने र दबाउने नियत देखिएको भन्दै आपत्ति जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ,
“राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित मात्र होइन, नागरिकले स्वतन्त्रतापूर्वक हिँड्न, डुल्न, बोल्न, लेख्न र शान्तिपूर्ण विरोध गर्न पाउने संविधानप्रदत्त अधिकारको कुण्ठितसमेत गरेको छ।”
राप्रपाले प्रसाईँलाई बिना सर्त अविलम्ब रिहा गर्न सरकारसँग माग गर्दै संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको सम्मान गर्न आग्रह गरेको छ।
