पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे–६ स्थित दसकिलोमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दाङबाट काठमाडौँ आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौँबाट रसुवागढी जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख ५२०८ नम्बरको डिलक्स बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनाका क्रममा सडक छेउको चियापसलमा चिया पिइरहेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५१ वर्षीय राजु थापा गम्भीर घाइते भएका छन्। उनलाई उपचारका लागि काठमाडौँ पठाइएको छ। प्रहरी चौकी महादेवबेशी र इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी टोलीले बिहान ८ बजेदेखि एकतर्फी रूपमा पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा ल्याएको छ।
दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
