काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्य निर्वाचनको चुनावी प्रचारप्रसारका लागि आज दिउँसो १ बजे झापा जाने भएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ओलीले झापा–५ बाट उम्मेदवारी दिएका छन् । चुनाव नजिकिँदै जाँदा झापा–५ मा बहुकोणीय र रोचक प्रतिस्पर्धा देखिएको छ ।
झापा–५ मा ओलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह, नेपाली कांग्रेसबाट मन्धरा चिमोरिया, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट रञ्जीत तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट लक्ष्मीप्रसाद संग्रौला, जनता समाजवादी पार्टीबाट धिरेन सुब्बा तथा जनमत पार्टीबाट अमृतलाल महतो उम्मेदवार रहेका छन् ।
त्यसैगरी, मंगोल नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेचे, नेपाल जनमुक्ति पार्टीबाट पदमबहादुर जवेगु, राष्ट्रिय परिवर्तन पार्टीबाट सविन राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सुशान्त साम्पाङ राई, श्रम संस्कृति पार्टीबाट समिर तामाङ, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट सञ्जय राई, राष्ट्रिय मुक्ति पार्टीबाट अमृत रसाइली र पिपुल फस्ट पार्टीबाट धर्मराज गुरागाईं चुनावी मैदानमा छन् ।
यस निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारका रूपमा पुस्कर खतिवडा, प्रकाश नेपाल, खेमनाथ शिवाकोटी र डम्बर शाहुले पनि प्रतिस्पर्धा गरिरहेका छन् ।
झापा–५ मा प्रमुख दल, नयाँ राजनीतिक शक्तिसहित स्वतन्त्र उम्मेदवारहरूको उल्लेख्य उपस्थितिका कारण चुनावी माहोल थप तातेको छ । ओलीको आजको झापा भ्रमणलाई एमालेले चुनावी अभियानलाई तीव्र बनाउने अवसरका रूपमा लिएको छ ।
