काठमाडौं - नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले सम्हाल्न र सुधार गर्न सक्ने शक्ति कांग्रेस मात्रै भएको दाबी गरेका छन् । पोखरामा आयोजित पार्टीका विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जस्तोसुकैले बिगार्न सक्ने अवस्थामा पुगेको भन्दै अब जिम्मेवार र परिवर्तनकारी नेतृत्वको आवश्यकता रहेको बताए ।
“देश सम्हाल्नुपर्ने मात्रै होइन, नागरिकहरूले सुधार्न सक्ने शक्तिको आवश्यक छ, जसले देश बदलोस् पनि,” थापाले भने, “त्यो काम कांग्रेसले मात्रै गर्न सक्छ । यो कुरा तपाईंहरूले घरघरमा पुगेर जनतालाई जानकारी गराउनुपर्छ ।”
थापाले देश विकासको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार रहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्ने शक्ति बदलिएर आएको कांग्रेस मात्रै भएको जिकिर गरे । “हिजो हामीले देशलाई हिंसाको आहालबाट बाहिर निकाल्यौँ,” उनले भने, “अब भ्रष्टाचारको आहालबाट पनि देशलाई बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसले लिन्छ ।”
यसै क्रममा सभापति थापाले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीपंक्तिलाई ‘अबकी बार सय पार’ को नारा लिएर चुनावी अभियानमा होमिन निर्देशन दिए । कांग्रेसको संगठनात्मक तागत बलियो रहेको उल्लेख गर्दै उनले १६५ वटै निर्वाचन क्षेत्रमा चुनाव लड्ने मुलुकको एक मात्र पार्टी कांग्रेस भएको बताए ।
“कुनै कांग्रेस कार्यकर्ताले रुख चिन्हबाहेक अन्त कतै मत हाल्ने कुरा स्वीकार्य हुँदैन,” उनले भने, “कुनै नेता जिताउन अर्को नेता हराउने कुरा अब चल्दैन । ‘अबकी बार यो सरकार’ भन्ने नारा छोड्नुस्, अब ‘अबकी बार सय पार’ भन्ने नारा लगाउनुस् । मज्जाले बहुमत ल्याउन सकिन्छ ।”
१० लाख क्रियाशील सदस्य भएको पार्टी कांग्रेस भएकाले संगठनको शक्ति नै सबैभन्दा ठूलो हतियार भएको थापाको भनाइ थियो । उनले विगतमा पार्टी छोडेर गएका नेता तथा कार्यकर्तालाई हृदय खुला राखेर स्वागत गर्नुपर्नेमा जोड दिए । “कुनै न कुनै कारणले मन दुखाएर जानुभएको हो,” उनले भने, “अब ती सबै साथीहरूलाई घर फर्क भन्नुपर्छ । तपाईंहरूको गुनासोलाई सम्बोधन गर्ने प्रयास गरिएको छ भनेर फिर्ता बोलाउनुपर्छ ।”
थापाले गएको निर्वाचनमा पार्टीभित्र असन्तुष्टि हुँदाहुँदै पनि कांग्रेसले समानुपातिकतर्फ २७ लाखभन्दा बढी मत पाएको स्मरण गराए । हल्ला र अफवाहबाट नडराई संगठनको शक्तिमा भरोसा गर्न कार्यकर्तालाई आग्रह गरे ।
सामाजिक सञ्जालको भूमिकालाई स्वीकार गर्दै उनले त्यसैमा सीमित नहुन चेतावनी दिए । “भ्युज र लाइक्सको पछि मात्रै कुदेर हुँदैन,” उनले भने, “कांग्रेसको असली तागत भनेको घरघर पुग्ने क्षमता हो । गाउँगाउँ, टोलटोल पुग्ने शक्ति हो ।”
अबको चुनावी प्रचारप्रसारको शैली बदल्नुपर्नेमा जोड दिँदै उनले प्रत्येक मतदातासँग प्रत्यक्ष संवाद गर्नुपर्ने बताए । “एउटा पनि घर छुट्नु हुँदैन, एउटा पनि मतदाता छुट्नु हुँदैन,” थापाले भने, “घरमा गएर नमस्कार गरेर पर्चा छोडेर हिँड्ने होइन, त्यहाँ बस्नुपर्छ, कुरा सुन्नुपर्छ, प्रश्न सुन्नुपर्छ । गाली आए पनि सुन्नुपर्छ । हामी प्रश्न र गालीबाट भाग्ने शक्ति होइनौँ ।”
