काठमाडौं - निर्वाचन नजिकिँदै जाँदा सूचना प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको छ । यसकै शिकार बनेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले ।
तनहुँ–१ बाट उम्मेदवार बनेका वाग्लेलाई लक्षित गर्दै सामाजिक सञ्जाल र अनलाइन प्लेटफर्ममार्फत उनी ‘क्रिस्चियन धर्मप्रचारक’ भएको भ्रामक प्रचार गरिएको छ । विकिपिडियामा समेत विवरण हेरफेर गर्दै उनको धर्म ‘क्रिस्चियन’ उल्लेख गरिएपछि वाग्लेले पटक–पटक आफू हिन्दू भएको स्पष्टीकरण दिनुपरेको छ ।
दुष्प्रचार रोक्न नसकेपछि वाग्लेले प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन् । उजुरीमा उनले आफूविरुद्ध सुनियोजित रूपमा झूटा अफवाह फैलाउने व्यक्ति र समूहको पहिचान गरी साइबर ऐनअनुसार कारबाही गर्न माग गरेका छन् ।
“पूर्णरूपमा झूटा अफवाह फैलाउने व्यक्ति र समूह पत्ता लगाई कसले, कहाँबाट र कति जनाको मिलेमतोमा यस्तो कार्य गरेको हो भन्ने विषयमा अनुसन्धान र कारबाही गरियोस्,” उजुरीमा उल्लेख छ ।
वाग्लेविरुद्ध भ्रम फैलाउनेमा बाग्मती प्रदेशकी राप्रपा सांसद लक्ष्मी घिमिरेसमेत संलग्न रहेको आरोप छ । घिमिरेले विकिपिडियाको स्क्रिनसटसहित वाग्ले गेरुवस्त्र लगाएको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै ‘क्रिस्चियन धर्म मान्ने पनि चुनावका बेला हिन्दू धर्मकै शरणमा पर्नुपर्ने रहेछ’ भन्ने टिप्पणी गरेकी थिइन् । उक्त स्क्रिनसटमा वाग्लेको धर्म ‘क्रिस्चियन’ उल्लेख गरिएको थियो ।
यसैगरी, मोहन लामा रुम्बा नाम गरेका व्यक्तिले पनि वाग्लेविरुद्ध पटक–पटक भ्रामक सामग्री पोस्ट गर्दै आएको वाग्लेको उजुरीमा उल्लेख छ । वाग्लेले घिमिरे र लामालाई मुख्य रूपमा आफ्नो प्रतिष्ठामाथि आँच पुर्याउने नियत राखेर सामग्री प्रसारण गरेको आरोप लगाएका छन् ।
वाग्लेले आफू स्पष्ट रूपमा हिन्दू भएको र आफ्नो दल रास्वपा सनातन सभ्यताको जगेर्नामा प्रतिबद्ध रहेको बताएका छन् ।
“मेरो पहिचान, चरित्र, प्रतिष्ठा र राजनीतिक जीवनमा आघात पुर्याउने उद्देश्यले विकिपिडियामा फरक धर्म उल्लेख गराएर सुनियोजित रूपमा भ्रम फैलाइएको छ,” उनले उल्लेख गरेका छन् ।
उनका अनुसार पछिल्लो दुई दिनमा मात्र आफ्नो विकिपिडिया प्रोफाइल १३५ पटकसम्म संशोधन गरिएको छ । कतै उनलाई ‘क्रिस्चियन पास्टर’ त कतै ‘धर्मप्रचारक’ लेखिएको थियो । फेब्रुअरी ४ मा त ‘he is promoting Christianity in Nepal’ भन्ने वाक्यसमेत राखिएको थियो, जुन अहिले हटाइएको छ ।
यसअघि पनि वाग्लेले ‘रास्वपामा हिन्दू धर्म मान्नेहरूलाई स्थान छैन’ भनेर बोलेको भन्दै सामाजिक सञ्जालमा भ्रामक प्रचार गरिएको थियो । त्यसविरुद्ध पनि उनले साइबर ब्यूरोमा उजुरी दिएका थिए । चुनावी अभियानका क्रममा मतदातासामु यही विषयमा स्पष्टीकरण दिँदै हिँड्नुपरेको वाग्ले बताउँछन् ।
केही दिनअघि उनले स्थानीय सन्तहरूसँग अन्तरक्रिया गर्दै आफू कट्टर हिन्दू परिवारमा जन्मिएको र कहिल्यै धर्म परिवर्तन नगरेको स्पष्ट पारेका थिए ।
