काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । बिहीबारको तुलनामा आज सुन र चाँदी दुवैको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० रुपैयाँ र चाँदी ४ हजार ९८० रुपैयाँ थियो । त्यस्तै, गत बुधबार सुनको मूल्य तोलामा ३ लाख ४ हजार ७०० रुपैयाँ र चाँदी ५ हजार ६०० रुपैयाँ पुगेको थियो । मंगलबार भने छापावाल सुन २ लाख ९० हजार ३०० रुपैयाँ र चाँदी ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा एक औँस सुन ४ हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, अमेरिकी डलरको मूल्य र भू–राजनीतिक अवस्थाका कारण पछिल्लो समय सुनचाँदीको मूल्यमा तीव्र उतारचढाव देखिँदै आएको व्यवसायीहरू बताउँछन् ।
