काठमाण्डू - अमेरिका र इरानबीच बढ्दो तनावका बीच दुवै देशका वरिष्ठ अधिकारीहरूबीच प्रत्यक्ष वार्ता हुने भएको छ । सैन्य द्वन्द्वको आशंका तीव्र बन्दै गएपछि क्षेत्रीय मध्यस्थकर्ताको पहलमा तनाव कम गर्ने उद्देश्यले कूटनीतिक प्रयास अघि बढाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकाले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा रोक्न, समृद्ध युरेनियमको भण्डारण त्याग्न तथा मिसाइल कार्यक्रम र क्षेत्रीय सशस्त्र समूहहरूलाई दिएको समर्थन अन्त्य गर्न माग गर्दै आएको छ । तर, इरानले वार्ता केवल आफ्नो आणविक कार्यक्रमसँग सम्बन्धित विषयमै सीमित हुने स्पष्ट पारेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभए इरानमाथि सैन्य कारबाही गर्न सकिने चेतावनी दिएका छन् । जवाफमा इरानले पनि कुनै आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । बढ्दो तनावका कारण अमेरिकाले मध्यपूर्व क्षेत्रमा अतिरिक्त सैनिक र युद्धपोत तैनाथ गरिसकेको छ ।
आगामी वार्तामा इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघची र अमेरिकातर्फबाट विशेष दूत स्टिभ विटकफ सहभागी हुनेछन् । विश्लेषकहरूका अनुसार यो वार्ता इरानका लागि सम्भावित अमेरिकी सैन्य कारबाही टार्ने महत्वपूर्ण कूटनीतिक अवसरका रूपमा हेरिएको छ ।
वार्ताको नतिजाले मध्यपूर्वको सुरक्षा अवस्था र विश्व राजनीतिक सन्तुलनमा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।
