बैतडी - बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बढ्गाउँ मोडमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ भने ३४ जना घाइते भएका छन् ।
पुर्चौडी नगरपालिका–७ कै भौनीबाट जन्ती लिएर फर्किने क्रममा गएराति बस दुर्घटनामा परेको हो । दुर्घटनामा गम्भीर घाइते भएका थप ५ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।
घाइतेहरूमध्ये २५ जनाको डडेल्धुरा अस्पतालमा र ४ जनाको बझाङस्थित देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । थप ५ जनालाई अवस्था गम्भीर भएपछि थप उपचारका लागि धनगढी रिफर गरिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेका बस चालक विरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ । बसमा सवार बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले उनीहरू सकुशल रहेको प्रहरीले जनाएको छ ।
यसैबीच, बस दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्मानमा पुर्चौडी नगरपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ । नगरपालिकाले बिहीबार साँझ भएको दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नगरपालिका कार्यालय तथा अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र शिक्षण संस्थामा शोक बिदा दिने निर्णय गरेको हो ।
नगरपालिकाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “दिवङ्गत आत्माहरूको सम्मानमा मिति २०८२/१०/२३ गते शुक्रबारका दिन यस पुर्चौडी नगरपालिका कार्यालय एवं यसअन्तर्गतका अत्यावश्यक सेवाबाहेक सम्पूर्ण वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा शिक्षण संस्थाहरूमा शोक बिदा दिने निर्णय गरिएको छ।”
घटनापछि स्थानीय तह र सुरक्षाकर्मीको सहयोगमा उद्धार तथा उपचारको काम भइरहेको छ । दुर्घटनाले सिंगो क्षेत्र शोकमा डुबेको छ ।
