काठमाडौं - प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार बालुवाटारमा करिब दुई घण्टा लामो छलफल भएको छ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली बिहान करिब ९ बजेपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक परिस्थिति र आसन्न निर्वाचनका विषयमा विस्तृत छलफल भएको हो।
छलफलका क्रममा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित ढंगले सम्पन्न गर्ने विषयमा सहमति केन्द्रित संवाद भएको जनाइएको छ। साथै, अध्यक्ष ओलीले निर्वाचन एकै चरणमा सम्पन्न गर्नुपर्ने सुझाव सरकारसमक्ष राखेका थिए।
दुवै पक्षका निकट स्रोतहरूका अनुसार प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच निर्वाचन एकै चरणमा गरिनुपर्ने विषयमा साझा बुझाइ रहेको छ। भेटघाटलाई समसामयिक राजनीतिक सहकार्यको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
