काठमाडौं - नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन ७ गतेदेखि चुनावी सभा सुरु गर्ने भएको छ। पार्टीले पहिलो ठूलो चुनावी सभा मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने निर्णय गरेको छ।
कांग्रेस सभापति गगन थापा यसपटक सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार रहेका छन्। पहिलो सभा मधेशमै गर्ने रणनीति कांग्रेसले बनाएको सहमहामन्त्री डिला संग्रोलाले जानकारी दिइन्।
उनका अनुसार जनकपुरमा हुने सभालाई सभापति थापा, उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मासहित पार्टीका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्। ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ। त्यसपछि प्रदेश र जिल्लाको आवश्यकता अनुसार अन्य नेताहरू चुनावी अभियानमा खटिने तय भएको छ,’ संग्रोलाले भनिन्।
संग्रोलाले समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा देश दौडाहामा निस्कने तयारीमा रहेको पनि बताइन्।
नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने उपसभापति शर्मा निर्वाचन परिचालन समितिको संयोजकको भूमिकामा छन्। पार्टीले केन्द्रीय नेतृत्वलाई अग्रपंक्तिमा राख्दै देशव्यापी चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरेको छ।
