काठमाडौँ - काठमाडौँको बौद्ध टुसालस्थित एक घरबाट १ करोड रुपैयाँभन्दा बढीको सुनका गहना चोरीमा संलग्न व्यक्तिलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ।
स्थानीय रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीका गहना चोरी गरेको आरोपमा प्रेम थारु पक्राउ परेका हुन्। प्रहरीका अनुसार थारु बाँकेको नेपालगञ्ज निवासी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो। काठमाडौँका एसपी पवन भट्टराईका अनुसार थारुको खुट्टामा गोली लागेको छ र हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
‘बौद्धमा भएको चोरी घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा गोली चलाउनु परेको हो,’ एसपी भट्टराईले भने, ‘यसअघि पनि भोटेबहाल र कालिमाटी क्षेत्रमा दिउँसो चोरीका घटनामा उनको संलग्नता देखिएकाले निगरानी बढाइएको थियो।’
प्रहरीका अनुसार मंगलबार दिउँसो थारुले लामाको घरबाट करिब ३० तोला सुन, चाँदीका गहना र सिमाला चोरी गरेका थिए। बरामद सामानको कुल मूल्य १ करोड ४ लाख ५३ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
थारु यसअघि २०७९ सालमा पनि चोरी मुद्दामा पक्राउ परेर कारागारबाट छुटेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ। हाल उनको दाहिने पिडुलामा गोली लागेको छ र थप अनुसन्धान जारी छ।
