झापा - आईसीसी टी–२० पुरुष विश्वकपअन्तर्गत नेपालले आफ्नो दोस्रो तथा अन्तिम वार्मअप खेलमा आज (बिहीबार) क्यानडाको सामना गर्दैछ। खेल चेन्नईस्थित एमए चिदम्बरम क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ।
नेपाल लगातार दोस्रो वार्मअप खेल जित्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछ। चेन्नईमै भएको पहिलो वार्मअप खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो।
यता क्यानडा भने पहिलो जितको खोजीमा हुनेछ। क्यानडालाई पहिलो वार्मअप खेलमा इटालीले १० रनले हराएको थियो।
क्यानडाविरुद्धको खेलपछि नेपाली टोली मुम्बई प्रस्थान गर्नेछ। समूह ‘सी’ मा रहेको नेपालले इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ। नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित वान्खेडे क्रिकेट मैदानमा हुनेछन्। नेपालले आइतबार इंग्ल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
यसैबीच, आईसीसी टी–२० पुरुष विश्वकपको आधिकारिक वार्मअप खेलमा भारतले दक्षिण अफ्रिकालाई ३० रनले पराजित गरेको छ।
बुधबार नवी मुम्बईस्थित डा. डीवाई पाटिल स्पोर्ट्स एकेडेमी क्रिकेट मैदानमा भारतले दिएको २४१ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि ट्रिस्टन स्टब्सले अविजित ४५, रायन रिकेल्टनले ४४, कप्तान एडियन मार्करमले ३८, जेसन स्मिथले ३५ र मार्को यानसनले ३१ रन बनाए।
भारतका लागि अभिषेक शर्माले २ विकेट लिए भने अर्शदीप सिंह, शिभम दुबे, वरुण चक्रवर्ती र अक्षर पटेलले १–१ विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २४० रनको बलियो योगफल तयार पारेको थियो। भारतका लागि इशान किशनले २० बलमा ७ छक्का र २ चौकासहित सर्वाधिक ५३ रन बनाए। तिलक वर्माले ४५, अक्षर पटेलले अविजित ३५, हार्दिक पाण्ड्या र कप्तान सूर्यकुमार यादवले ३०–३० रनको योगदान दिए।
दक्षिण अफ्रिकाका लागि मार्को यानसन, कोर्बिन बोश, एनरिच नोर्ट्जे र क्वेना माफाकाले १–१ विकेट लिए।
