दमक - लामो समयदेखि तनावपूर्ण सम्बन्धमा रहेका अमेरिका र इरानबीच आगामी शुक्रबार ओमानमा वार्ता हुने भएको छ।
इरानका विदेशमन्त्री अब्बास अरागचीले सामाजिक सञ्जाल एक्समार्फत् जानकारी दिँदै शुक्रबार स्थानीय समयअनुसार बिहान करिब १० बजे ओमानको राजधानी मस्कटमा वार्ता हुने बताएका हुन्। उनले वार्ताका लागि आवश्यक सबै कूटनीतिक व्यवस्था मिलाइदिएकोमा ओमान सरकारप्रति आभार व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर वर्षौंदेखि तनाव रहँदै आएको छ। सन् २०१५ मा भएको संयुक्त व्यापक कार्ययोजना (जेसीपीओए) अनुसार इरानले परमाणु गतिविधि सीमित गरेमा उसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने सहमति भएको थियो।
तर सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गरेपछि दुवै देशबीचको सम्बन्ध थप जटिल बनेको थियो। त्यसयता प्रत्यक्ष संवाद प्रायः ठप्प रहेको छ भने प्रतिबन्ध र आरोप–प्रत्यारोप जारी छन्।
पछिल्लो समय इरानमा सरकारविरोधी प्रदर्शनमा भएको दमन र परमाणु कार्यक्रमलाई लिएर ट्रम्पले आक्रमणको चेतावनी दिएका थिए। त्यसपछि इरानले आफ्नो वरपर लडाकु सेना तैनाथ गरेको थियो।
इरानका सर्वोच्च धार्मिक नेता आयतोल्लाह अली खामेनीले अमेरिकाले आक्रमण गरेमा क्षेत्रीय युद्ध सुरु हुने चेतावनी दिएका थिए। अमेरिका–इरान तनावका कारण खाडी क्षेत्रका देशहरूमा त्रासको वातावरण बनेको थियो।
यहीबीच कूटनीतिक प्रयास तीव्र बन्दै गएको अवस्थामा वार्ता तय भएको हो। यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरान वार्ताका लागि तयार भए अमेरिका पनि तयार रहेको बताएका थिए। उनका अनुसार वार्ताको एजेण्डामा इरानको परमाणु कार्यक्रमसँगै मिसाइल कार्यक्रम पनि समावेश हुनुपर्नेछ।
