झापा–५ स्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालय राखिएको घरमा गयराति ढुंगा हानिएको छ।
कमल गाउँपालिका–२ मा जयप्रकाश अधिकारीको घरमा रास्वपाको सम्पर्क कार्यालय सञ्चालनमा रहेको छ। प्रहरीले दिएको जानकारी अनुसार राति अज्ञात समूहले ढुंगा हान्दा घरको झ्यालको सिसा फुटेको छ।
रास्वपाको सम्पर्क कार्यालय घरको माथिल्लो तलामा रहेको भए पनि ढुंगा घरबेटी बस्ने कोठातर्फ लागेको र सम्पर्क कार्यालय रहेको कोठामा भने क्षति नपुगेको झापा प्रहरीले जनाएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराज गेलालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए। ‘ढुंगाले लागेर अधिकारीको घरको झ्यालको सिसा फुटेको जानकारी आएको छ। घटनामा संलग्नको खोजी भइरहेको छ,’ उनले बताएका छन्।
यस घटनाप्रति प्रतिक्रिया दिँदै रास्वपाका झापा क्षेत्रीय सभापति भेषराज भट्टराईले सम्पर्क कार्यालय रहेको घरमा ढुंगा हानिनु गम्भीर विषय भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान र उद्देश्य पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ।
