काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू तेस्रो पटक प्रधानमन्त्री हुँदा सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियान अधुरो रहेको बताएका छन्। उनले सामाजिक विभेद अन्त्य गर्दै सामाजिक न्याय स्थापना गर्ने अभियान पनि अपेक्षाअनुसार पूरा हुन नसकेको बताएका छन्।
रुकुम पूर्व–काठमाडौं सम्पर्क कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले देशलाई नयाँ विकास मोडेल दिन नसके सहिद तथा क्रान्तिकारीहरूको सपना अधुरै रहने खतरा रहेको उल्लेख गरे। उनले समुदायमा आधारित समाजवादको मोडेल निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताए।
प्रचण्डले विभिन्न जिल्ला र क्षेत्रबाट उम्मेदवार सिफारिस भए पनि देशको राजनीतिक अवस्था, पार्टी र आन्दोलनको आवश्यकतालाई मध्यनजर गर्दै आफूले पूर्वी रुकुम रोजेको बताए। पूर्वी रुकुम नेपाली क्रान्ति तथा जनयुद्धकालीन आन्दोलनको केन्द्रीय आधार क्षेत्र भएकाले त्यहाँ जाने निर्णय गरेको उनको भनाइ थियो। साथै, त्यहाँका नेता–कार्यकर्ता र जनताको भावना नजिकबाट बुझेर नै आफूले उक्त निर्णय लिएको उनले स्पष्ट पारे।
उनले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्न सक्ने दाबी गरे। निर्वाचनको माहोल बन्दै गएको उल्लेख गर्दै उनले प्रत्यक्षतर्फ पार्टी अगाडि रहने र समानुपातिक तथा प्रत्यक्ष दुवै जोड्दा पहिलो पार्टी बन्ने सम्भावना रहेको बताए।
प्रचण्डले केही समूहले निर्वाचन नहुने आशंका व्यक्त गरिरहेको भए पनि देशमा निर्वाचनको वातावरण क्रमशः बलियो बन्दै गएको पनि बताए।
