काठमाडौं । प्रतिनिधिसभा सदस्यका पाँच जना उम्मेदवारसँग निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ। निर्वाचन आचारसंहिता विपरीत कार्य गरेको आरोपमा परेका उजुरीका आधारमा आयोगले सम्बन्धित उम्मेदवारहरूसँग स्पष्टीकरण सोधेको जनाएको छ।
आयोगका अनुसार झापा निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन), सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङ, रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस), भक्तपुर–२ का उम्मेदवार महेश बस्नेत र जानुका पाठकसँग स्पष्टीकरण माग गरिएको हो।
बालेन्द्र शाहको हकमा अर्का उम्मेदवार केपी शर्मा ओलीले सामाजिक सञ्जालमा राखेको स्टाटसमा टिप्पणी (कमेन्ट) गरेको विषयमा आचारसंहिता उल्लंघन भएको भन्दै स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
रुपन्देही–२ का उम्मेदवार कमल भुसाल (निकोलस) ले ‘जेनजी आन्दोलनको आइकोनिक जुत्ता’ लाई चुनाव चिन्हको रूपमा प्रचार गरेको विषयमा स्पष्टीकरण माग गरिएको छ। यस्तै, सुनसरी–१ का उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेको, टिसर्ट लगाउन लगाएको लगायतका आरोपमा स्पष्टीकरण सोधिएको छ।
भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतलाई बालेन्द्र शाहप्रति आपत्तिजनक शब्द प्रयोग गरेको आरोपमा स्पष्टीकरण सोधिएको हो भने सोही क्षेत्रकी उम्मेदवार जानुका पाठकलाई पनि अर्का उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको विषयमा स्पष्टीकरण माग गरिएको छ।
यसैबीच, निर्वाचन आयोगले स्वास्थ्य स्वयंसेवक संघसँग पनि स्पष्टीकरण माग गरेको छ। आयोगको अनुमति नलिई निर्वाचन आचारसंहिता लागू भइसकेपछि अधिवेशन आयोजना गरेको आरोपमा संघसँग स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।
