काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा पार्टीले कुनै पनि राजनीतिक दलसँग चुनावी गठबन्धन वा तालमेल नगर्ने स्पष्ट पारेका छन्।
चुनावी अभियानका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापामा रहेका अध्यक्ष लिङ्देनले राप्रपाको एकमात्र गठबन्धन जनता नै भएको उल्लेख गर्दै पार्टी एक्लै चुनावी मैदानमा उत्रिने बताए। पछिल्लो समय झापामा नेकपा एमाले लगायतका दलहरूसँग राप्रपाको चुनावी तालमेल हुन सक्ने चर्चा चलिरहेका बेला उनले ती सबै अड्कलबाजीलाई अस्वीकार गरे।
अध्यक्ष लिङ्देनले भने, ‘हाम्रो नीति सुरुदेखि नै स्पष्ट छ। हामी जनतासँग गठबन्धन गरेर एक्लै चुनाव लड्छौँ।’
उनले राप्रपाले जनताको विश्वासलाई केन्द्रमा राखेर अघि बढ्ने नीति लिएको उल्लेख गर्दै केही प्राविधिक कारणले उम्मेदवारी खारेज वा फिर्ता लिनुपरेका स्थानबाहेक देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार रहेको जानकारी दिए।
अध्यक्ष लिङ्देनले राप्रपाले आफ्नै विचार, एजेन्डा र संगठनात्मक शक्तिका आधारमा चुनावमा प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे।
