काठमाडौं । चर्चित गायक तथा अभिनेता प्रकाश सपुतले औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत पार्टी सभापति रवि लामिछाने र वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाह (बालेन) सँगको तस्वीर सार्वजनिक गर्दै सपुतले आफू नयाँ राजनीतिक यात्रामा अघि बढेको जानकारी दिएका हुन्।
उनले सम्पूर्ण नेपाली नागरिकको व्यक्तिगत राजनीतिक आस्था र विचारको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ समय र नयाँ आन्दोलनको सम्बोधनका लागि नयाँ राजनीतिक शक्तिलाई स्थापित गर्न खुलेर सरिक हुने निर्णय गरेको बताएका छन्।
सपुतले रास्वपामा प्रवेशलाई आफ्नो जीवनको ‘कठोर निर्णय’ को संज्ञा दिँदै लामो संघर्ष र मेहनतबाट स्थापित गरेको आफ्नो कलात्मक यात्रामा यस निर्णयले चुनौती थप्ने उल्लेख गरेका छन्। यद्यपि, इमानदार प्रयास र कर्मबाट दर्शक–श्रोताको विश्वास पुनः जित्न सकिनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कुनै एउटा दलमा लागेको भन्दै मन दुखाउने मेरा प्रिय दर्शक–श्रोताको मन हामीले हाम्रो काम र इमानले जित्नेछौँ। हामी सँगै देशले जित्नेछ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश सपुतलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ दलित कोटाबाट उम्मेदवार बनाएको छ। हालै मेला–महोत्सव केन्द्रित सांगीतिक टूर सम्पन्न गरेका सपुत अब चुनावी प्रचारप्रसारमा सक्रिय रूपमा जुट्ने पार्टीले जनाएको छ।
