काठमाडौं । घरेलु मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेट प्रतियोगिताबाट नेपाल समूह चरणमै बाहिरिएको छ। टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपालको सुपर सिक्स यात्रा असफल भएको हो।
समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो। नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् भने नेपाल र जिम्बाब्बे क्रमशः चौथो र पाँचौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन्।
स्कटल्याण्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल ६८ रनमै अलआउट भयो। नेपालका लागि रोमा थापा र विन्दु रावलले समान १४–१४ रन बनाए भने रुविना क्षेत्रीले १० रन जोडिन्। अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान इन्दु बर्मा रिटायर्ड हर्ट भइन्।
बलिङतर्फ स्कटल्याण्डकी अब्दह मक्सुदले सर्वाधिक ३ विकेट लिइन्।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनाएको थियो। स्कटल्याण्डका लागि प्रियांज चटर्जीले अविजित ४५ रन बनाइन्। उनले २८ बल खेल्दै ७ चौका प्रहार गरिन्।
नेपालको बलिङतर्फ मनिषा उपाध्यायले सर्वाधिक ४ विकेट लिइन् भने रुविना क्षेत्रीले ३ विकेट हात पारिन्। रिया शर्मा, सीता रानामगर र कविता जोशीले एक–एक विकेट लिए।
घरेलु मैदानमा भएको प्रतियोगितामा अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपाली महिला टोली समूह चरणबाटै बाहिरिनु परेको हो।
