झापा–५ अन्तर्गत दमक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो तथा मतदाता भेटघाट अभियानलाई तीव्रता दिएको छ। मनोनयन दर्तापछि केही दिन दमकमा बसेर उम्मेदवार बालेन्द्र साह (बालेन) फर्किएसँगै हाल पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले बालेनबिनै घरदैलो अभियानलाई निरन्तरता दिएका हुन्।
आज बिहान दमक–९ स्थित उराव बस्तीबाट सुरु भएको घरदैलो अभियान पाणिनी स्कुल, देवसिंह टोल, नौभाइ चोक र बुद्ध चोक हुँदै पुनः उराव बस्तीमै पुगेर समापन गरिएको थियो।
घरदैलो तथा मतदाता भेटघाटका क्रममा रास्वपाका नेताहरूले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझावहरू संकलन गर्दै जनतासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। अभियानमा पार्टीका महिला तथा युवाहरूको उल्लेख्य सहभागिता देखिएको छ।
बालेनका लागि भोट माग्न उनकी पत्नी सविना साह पनि दमक आएकी छन्। पार्टीका अनुसार आज दिउँसो ३ बजेदेखि कमल गाउँपालिका–५ स्थित पाडाजुगी चोकबाट पुनः घरदैलो अभियान सुरु गरिने छ।
कार्यक्रम पाडाजुगी चोकबाट उत्तरतर्फ गुहेश्वरी टोल, टुक्रे र सशस्त्र चेकपोष्ट हुँदै दक्षिणतर्फ पाथीभरा टोल र अम्विका चोक पार गर्दै मंगलबारे बजारमा पुगेर समापन गरिने तालिका रहेको पार्टीले जनाएको छ।
रास्वपाले घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष सम्पर्क बढाउँदै चुनावी अभियानलाई थप प्रभावकारी बनाउने रणनीति लिएको जनाएको छ।
