नयाँ दिल्ली । छिमेकी मुलुक भारतले आज (सोमबार) ७७ औं गणतन्त्र दिवस भव्य रूपमा मनाउँदै छ । आजकै दिन सन् १९५० मा भारतमा संविधान लागू भएको स्मरणमा हरेक वर्ष जनवरी २६ मा गणतन्त्र दिवस मनाइन्छ ।
गणतन्त्र दिवसका अवसरमा भारतले आफ्नो विकास यात्रा, सांस्कृतिक विविधता र सैन्य शक्ति प्रदर्शन गर्दै भव्य समारोह आयोजना गरेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार आज हुने परेडमा हालै गठन भएका सैन्य इकाइहरूका साथै ‘अपरेशन सिन्दुर’ का क्रममा प्रयोग गरिएका प्रमुख हथियार प्रणालीहरूको मोडल पनि प्रदर्शन गरिनेछ ।
यस वर्षको गणतन्त्र दिवस समारोहमा युरोपियन काउन्सिलका अध्यक्ष एन्टोनियो लुईस सान्तोस दा कोस्टा तथा युरोपियन कमीशनकी अध्यक्ष उर्सुला वान डेर लेयेन प्रमुख अतिथि रहेका छन् ।
समारोहको अगुवाइ भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले गर्नेछिन् । कार्यक्रम भारतीय समयअनुसार बिहान साढे १० बजे सुरु भई करिब ९० मिनेटसम्म चल्ने बताइएको छ ।
परेड सुरु हुनु अघि करिब १०० सांस्कृतिक कलाकारहरूले ‘विविधतामा एकता’ विषयमा आधारित सांस्कृतिक प्रस्तुति दिने बीबीसी हिन्दीले जनाएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत देशवासीलाई गणतन्त्र दिवसको शुभकामना दिएका छन् । उनले लेखेका छन्,
“भारतको आन–बान र शानको प्रतीक यो राष्ट्रिय महापर्वले तपाईं सबैको जीवनमा नयाँ ऊर्जा र उत्साहको सञ्चार गरोस् । विकसित भारतको संकल्प अझ सुदृढ होस् ।”
