काठमाडौं । कुलमान घिसिङ नेतृत्वको राजनीतिक दल उज्यालो नेपाल मा ठूलो आन्तरिक संकट देखिएको छ । पार्टीका १५ जना केन्द्रीय सदस्यहरूले एकसाथ पार्टी परित्याग गरेको औपचारिक घोषणा गरेका छन् ।
हस्ताक्षररहित विज्ञप्ति जारी गर्दै उनीहरूले तत्काल कुनै दलमा आवद्ध नहुने जनाउँदै विचार, मूल्य र नागरिक सरोकारका आधारमा क्रियाशील रहने बताएका छन् । विज्ञप्तिमा भनिएको छ,
“यसलाई कुनै दलप्रति समर्थन वा विरोधका रूपमा नभई नागरिक चेतना र साझा हितको अभ्यासका रूपमा बुझिदिन अनुरोध गर्दछौं ।”
उज्यालो नेपाल त्याग्ने नेताहरूमा डा. विशाल कुमार भण्डारी, डा. अभिसेकराज सिंह, डा. घनश्याम पाण्डे, डा. सागर ढकाल, विशाल गैरे, सरला लामिछाने, सुजन श्रेष्ठ, कुशुम घिमिरे, क्षितिज भण्डारी, मीनराज आचार्य, रजिया बुनु, निर्देश सिलवाल, देवेन्द्र श्रेष्ठ तथा संजिव भट्टराई रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपालको एकता प्रक्रिया भंग भएपछि यी नेताहरू कुलमान घिसिङसँग असन्तुष्ट बनेका थिए । उनीहरूको धारणा अनुसार अडानमा केही लचकता अपनाएर भए पनि एकता जोगाउनुपर्ने थियो ।
उज्यालो नेपालको कोटाबाट रास्वपाको बन्दसूचीमा राखिएकी रिमा विश्वकर्मा भने रास्वपामै रहेकी छन् । यस्तै, रास्वपाले डा. तारा जोशीलाई डडेलधुराबाट र अरविन्द साहलाई बारा–३ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बनाएको छ ।
पार्टी छाडेका १५ जना केन्द्रीय सदस्यहरू रास्वपामा समायोजन हुन इच्छुक रहेको बताइएको छ । रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले उनीहरूमध्ये केहीलाई केन्द्रीय समितिमा समेट्न सभापति रवि लामिछानेसँग प्रस्ताव राखे पनि अस्वीकार भएको स्रोतले जनाएको छ ।
विज्ञप्ति जारी गर्ने नेतामध्ये एक जनाले Yukti Times सँग भने,
“रास्वपाले उचित स्थान दिए यही पार्टीमा रहनेछौं, अन्यथा वैकल्पिक राजनीतिमा आफ्नै ढंगले अघि बढ्छौं ।”
