काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनु नेतृत्वको मुख्य जिम्मेवारी भएको बताएका छन् । उनले अहिले कार्यकर्ताको मनोबल घटाउने होइन, सबैलाई एकताबद्ध गर्दै ऊर्जा प्रदान गर्ने समय भएको स्पष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पाण्डेले आफू एमालेका उम्मेदवारहरूलाई जिताउन सक्रिय रूपमा मैदानमा खटिएको उल्लेख गरेका छन् । पार्टीभित्र आन्तरिक असहमति स्वाभाविक भए पनि त्यसलाई सार्वजनिक रूपमा न्यूनीकरण गर्नु राजनीतिक परिपक्वता नभएको उनको भनाइ छ ।
उनले संस्थागत निर्णय र सामूहिक विचारको आधारमा उभिएर बाह्य चुनौतीको सामना गर्नु नै जिम्मेवार राजनीतिक आचरण भएको बताए । टिकट वितरणको विषयमा पार्टीले गरेको निर्णयलाई पार्टी हितकै लागि कुनै विरोध नगरी स्वीकार गरिएको पाण्डेको भनाइ छ ।
‘टिकट वितरणको क्याल्कुलेसनलाई हामीले पार्टी हितका लागि स्वीकार गर्यौँ । तर एमालेलाई जिताउने साझा संकल्पमा पूर्वाग्रही टिप्पणीहरूले कुनै सकारात्मक अर्थ राख्दैन,’ पाण्डेले उल्लेख गरेका छन् ।
नेता पाण्डेले वैचारिक असहमति राख्ने नेता–कार्यकर्ताहरू पनि आफ्नै सहयोद्धा भएको भन्दै मत फरक हुँदैमा कसैप्रति पूर्वाग्रह नराख्ने आफ्नो राजनीतिक संस्कार रहेको बताएका छन् । अनावश्यक टिप्पणीको खण्डनमा अल्झिनुभन्दा पार्टीका उम्मेदवारलाई जिताउने र संगठनको साख जोगाउने काममा आफू केन्द्रित भएको उनले स्पष्ट पारेका छन् ।
