काठमाडौं । नागरिक अगुवा, लेखक तथा राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठकले नेकपामा औपचारिक प्रवेश गरेका हुन् ।
पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायत पार्टीका शीर्ष नेताहरूले खादामाला लगाएर स्वागत गरेका थिए ।
सो अवसरमा संयोजक प्रचण्डले युग पाठकलाई पार्टीमा भित्र्याउन पाउँदा खुसी र गर्वको अनुभूति भएको बताए । उनले पाठकको वैचारिक योगदानले पार्टीलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
सह–संयोजक माधवकुमार नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त र प्रभावकारी बन्ने अपेक्षा व्यक्त गर्दै नागरिक आन्दोलन र वैचारिक बहसमा उनको भूमिकाले पार्टीलाई लाभ पुग्ने उल्लेख गरे ।
कार्यक्रममा नेकपाका नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
