८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । महामन्त्री प्रदीप पौडेलले शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय जाने जानकारी दिएका छन् ।
पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो । तर सभापति निर्वाचित भएपछि पनि थापाले पहिलो र दोस्रो केन्द्रीय कार्यसमितिको बैठक होटलमै गरेका थिए । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न गठित संसदीय बोर्डको बैठकसमेत होटलमै बसेको थियो ।
थापा नेतृत्वको कार्यसमिति हालसम्म पार्टी केन्द्रीय कार्यालय नगएकामा शुक्रबार पहिलोपटक सानेपामै केन्द्रीय समितिको बैठक बस्न लागेको हो । पार्टी प्रवक्ता देवराज चालिसेले शुक्रबार केन्द्रीय कार्यालयमै बैठक बस्ने जानकारी दिए । उनका अनुसार धेरै नेताहरू काठमाडौं बाहिर रहेकाले काठमाडौँमा उपलब्ध सदस्यहरू मात्रै बैठकमा सहभागी हुनेछन् ।
पार्टी स्रोतका अनुसार उक्त बैठकले सभापति गगनकुमार थापालाई कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने तयारी गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै अन्य दलहरूले पनि प्रधानमन्त्रीको उम्मेदवार सार्वजनिक गरिसकेका छन् । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बालेन्द्र शाहलाई अघि सारेको छ ।
कांग्रेसभित्र भने विशेष महाधिवेशनलाई लिएर विवाद कायमै छ । गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशन आह्वान गरेपछि निवर्तमान सभापति शेरबहादुर देउवा समूहले असहमति जनाएको थियो । देउवा समूहका नेताहरूले विशेष महाधिवेशन अस्वीकार गरेको बताए पनि गगन थापाकै हस्ताक्षर भएको टिकट लिएर उम्मेदवारी दर्ता गराएका छन् ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।
विशेष महाधिवेशनपछि देउवा समूहका केही केन्द्रीय सदस्य तथा तरुण दलका नेताहरूले केन्द्रीय कार्यालयमा अन्यलाई प्रवेश नदिने भन्दै कब्जा गरेका थिए । हाल भने उनीहरूले केन्द्रीय कार्यालय छोडिसकेका छन् ।
कांग्रेसको आन्तरिक विवादका बीच सानेपामा बस्न लागेको बैठक र सम्भावित प्रधानमन्त्री उम्मेदवार घोषणाले पार्टीको आगामी चुनावी रणनीतिमा महत्वपूर्ण संकेत दिने अपेक्षा गरिएको छ ।
