श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उम्मेदवारी दर्ताको दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापाको दमकमा निकालेको जुलुसमा स्थानीय सहभागिता न्यून रहेको दाबी गरेका छन् ।
सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका साम्पाङले उक्त जुलुसमा स्थानीय मानिस १० प्रतिशत पनि नरहेको बताएका हुन् । उनले रास्वपाका उम्मेदवार बालेन शाहको मनोनयन जुलुसलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत कटाक्षसमेत गरेका छन् ।
साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, “पूर्वभरिकै सबै घण्टी हल्लाउनेहरू भेला भएका रहेछन् दमकमा अस्ति । स्थानीयहरू त १० प्रतिशत पनि थिएनन् । अनि हाम्लाई उल्टो हाँस्दिने ?”
पूर्वी नेपालमा आक्रामक चुनावी अभियान चलाइरहेका साम्पाङले झापा क्षेत्र नम्बर ५ मा समिर तामाङलाई उम्मेदवार बनाएका छन् । उनले आफूहरू स्थानीय जनतामा आधारित अभियानमा केन्द्रित रहेको दाबी गर्दै बाहिरबाट भीड ल्याएर शक्ति प्रदर्शन गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।
उनको यो अभिव्यक्तिपछि पूर्वी नेपालको चुनावी माहोल थप तातेको छ ।
