८ माघ, काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले पनि साधारण सदस्यसमेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् ।
तीनै जनाले संयुक्त विज्ञप्ति जारी गर्दै पहिचानसम्बन्धी एजेन्डामा पार्टीले स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेको आरोप लगाएका छन् । यही कारण पार्टीमा रहिरहन नैतिकताले नदिएको उनीहरुको भनाइ छ ।
यसअघि इलाममा सम्पन्न उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका थेगिम उज्यालो नेपाल पार्टीको समानुपातिक बन्दसूचीमा समेत समावेश थिए ।
पार्टी परित्यागपछि तीनै जनाले पहिचानवादी मोर्चालाई पुनः सशक्त बनाउँदै आन्दोलनका लागि बलियो संरचना निर्माण गर्ने घोषणा गरेका छन् । साथै, आसन्न निर्वाचनलाई लक्षित गर्दै दलहरूको घोषणापत्रमा पहिचानसहितको संघीयता, धर्मनिरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र पूर्ण समानुपातिक प्रणालीप्रति स्पष्ट प्रतिबद्धता गराउन दबाब दिने निर्णय पनि उनीहरुले गरेका छन् ।
स्वतन्त्र रूपमा ‘नो कोशी’ र ‘नो केबलकार’ अभियानअन्तर्गत मुक्कुमलुङ, खुवालुङ, बोझेनीलगायत धार्मिक तथा सांस्कृतिक स्थलमाथि भइरहेको अतिक्रमणविरुद्ध प्रतिरोध गर्ने प्रतिबद्धता जनाइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा माग सम्बोधन नभए ‘नो भोट’ अभियान चलाउने चेतावनीसमेत उनीहरुले दिएका छन् ।
