काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दिने समयावधि सकिएपछि नामावली प्रकाशनको प्रक्रिया अघि बढाइएको हो ।
निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ । आयोगमा हालसम्म पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेको जनाइएको छ । उजुरी भक्तपुर, सुनसरी, रौतहट र कैलाली निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध परेको आयोगले जनाएको छ ।
उजुरीमाथि आवश्यक जाँचबुझ तथा निर्णयपछि भोलि माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यसैदिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
निर्वाचन कार्यतालिकाअनुसार तोकिएका सबै प्रक्रिया समयमै सम्पन्न गर्ने तयारीमा आयोग जुटेको जनाएको छ ।
