काठमाडौँ । सहकारी विभागले एकभन्दा बढी शाखा कार्यालय खोलेर कारोबार गरिरहेका सहकारी संस्थालाई ती शाखा बन्द गर्न निर्देशन दिएको छ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्ने क्रममा विभागले राष्ट्रिय सहकारी महासंघ तथा विषयगत केन्द्रीय संघलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
सहकारी विभागका शाखा अधिकृत सरोज भुसालका अनुसार विभागले ६ बुँदे निर्देशन जारी गरेको छ, जसको मुख्य प्राथमिकतामा बहु–शाखा सञ्चालनमा रहेका सहकारीका शाखा बन्द गर्ने विषय रहेको छ । विभागले जारी गरेको परिपत्रको पहिलो बुँदामै एकभन्दा बढी शाखा खोलेर सञ्चालनमा रहेका सहकारी संस्थाले हिसाब–किताब राफसाफ गरी शाखा बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ ।
नयाँ निर्देशनअनुसार सहकारी संस्थाले कुनै पनि कम्पनी वा संगठित संस्थालाई सदस्य बनाउन नपाउने भएका छन् । अब प्राकृतिक व्यक्ति मात्र सहकारीको सदस्य हुन पाउने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ ।
त्यसैगरी, एकै व्यक्तिलाई एक वा एकभन्दा बढी तमसुकमार्फत दिइने कुल ऋण लगानी संस्थाको कुल सेयर पुँजीको १० प्रतिशतभन्दा बढी हुन नदिने व्यवस्था गर्न भनिएको छ । बचत तथा ऋण सहकारी संस्थाले आफ्नो प्रयोगका लागि बाहेक बिक्री गर्ने उद्देश्यले जग्गा खरिद गर्न पनि नपाउने स्पष्ट गरिएको छ ।
घर–आवास नभएका सदस्यलाई आवास निर्माणका लागि ऋण दिँदा निश्चित क्षेत्रफलभित्र मात्र सीमित गर्नुपर्ने व्यवस्था लागू गरिएको छ । निर्देशनअनुसार अधिकतम १ हजार वर्ग मिटर क्षेत्रफलसम्मको जग्गा खरिदका लागि मात्र ऋण दिन पाइनेछ ।
यसका अतिरिक्त, बचत तथा ऋण सहकारी संस्थाले एकै उद्देश्य वा एकै क्षेत्रमा कुल ऋण लगानीको २५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने र कर्जा–निक्षेप अनुपात अधिकतम ९० प्रतिशतसम्म मात्र कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।
सहकारी क्षेत्रमा देखिएका विकृति र जोखिम न्यूनिकरण गर्दै अनुशासन कायम गर्न यी निर्देशन प्रभावकारी हुने विभागको विश्वास छ । सहकारी संस्थाहरूलाई निर्देशन तत्काल कार्यान्वयन गर्न सहकारी विभागले आग्रह गरेको छ ।
