झापा । नेकपा एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपाल, दमक नगर कमिटीका अध्यक्ष र उपाध्यक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपाका वरिष्ठ नेता बालेन शाहले राष्ट्रिय युवा सङ्घ दमक नगर कमिटीका अध्यक्ष छवि खतिवडा र उपाध्यक्ष विजय तामाङलाई पार्टीमा स्वागत गरेका हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँग झापा–५ बाट चुनावी प्रतिस्पर्धामा उत्रिएका शाहले पछिल्लो समय मतदातासँग भेटघाट तथा संवादलाई तीव्र बनाएका छन्। यही क्रममा दमकका युवा नेताहरू रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि अध्यक्ष खतिवडाले देशमा आवश्यक परिवर्तनलाई आत्मसात् गर्दै अबको राजनीतिक यात्रा स्वतन्त्र र वैकल्पिक धारमा अघि बढाउने बताएका छन्। उनले झापा–५ मा परिवर्तनकारी र वैकल्पिक राजनीतिक शक्तिको रूपमा बालेन शाहको अभियानलाई सक्रिय रूपमा समर्थन गर्ने प्रतिबद्धता जनाएका छन्।
खतिवडाले झापा–५ का मतदातालाई पुरानै राजनीतिक अभ्यासबाट बाहिर निस्कँदै परिवर्तनको पक्षमा मत दिन आह्वान समेत गरेका छन्।
