धनकुटा
। स्थानीय बजारमा सुनको मूल्यमा एकैदिन भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच हजार ९२० रुपैयाँ पुगेको छ ।
यसअघि मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी पाँच हजार ८८० रुपैयाँमा किनबेच भएको थियो । पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । आइतबार सुन प्रतितोला दुई लाख ७८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार दुई लाख ८२ हजार रुपैयाँ पुगेको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ७४० अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतिऔँस ९५ अमेरिकी डलर कायम भएको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता, उच्च मुद्रास्फीति तथा भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा सुन र चाँदीको माग बढ्दै गएको छ । यही कारण अन्तरराष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा तीव्र वृद्धि देखिएको हो ।
