काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बन्दसूचीबाट हटाएकी टासी ल्हाजोमलाई अन्ततः प्रतिनिधिसभा निर्वाचनमा हुम्लाबाट प्रत्यक्ष उम्मेदवार बनाएको छ।
टासी यसअघि रास्वपाको समानुपातिक बन्दसूचीमा आदिवासी जनजाति महिला क्लस्टरको पहिलो नम्बरमा रहेकी थिइन् । सो सूचीमा कायम रहेको भए उनी सांसद निर्वाचित हुने सम्भावना बलियो थियो । तर, उनीमाथि उठेका विभिन्न विवादलाई कारण देखाउँदै पार्टीले बन्दसूचीबाट हटाउने निर्णय गरेको थियो।
पार्टीको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै टासीले सामाजिक सञ्जालमार्फत कानुनी उपचारमा जाने चेतावनीसमेत दिएकी थिइन् । कानुनी रूपमा बन्दसूचीमा समावेश उम्मेदवारको नाम सम्बन्धित व्यक्तिको निवेदनबिना हटाउन नमिल्ने व्यवस्था रहेकाले टासीको पक्ष बलियो रहेको टिप्पणी हुँदै आएको थियो । उनी रास्वपाको प्राइमरी इलेक्सन प्रक्रियाबाटै आएको उम्मेदवार पनि हुन्।
टासीमाथि फ्रि तिब्बत अभियानमा संलग्न रहेको तथा नेपाली नागरिकतासम्बन्धी प्रश्न उठ्दै आएका छन् । यसअघि सुशीला कार्की नेतृत्वको सरकारले उनलाई मन्त्री बनाउने तयारी गर्दा यिनै आरोपका कारण प्रक्रिया रोकिएको थियो । रास्वपाले बन्दसूचीमा राखेपछि चिनियाँ पक्षबाट समेत चासो व्यक्त भएको दाबी गरिँदै आएको छ।
बन्दसूचीबाट हटाइएपछि टासीले पार्टी सभापति रवि लामिछानेलाई भेटेर असन्तुष्टि व्यक्त गरेकी थिइन् । यस विषयमा हुम्लाबाट आएका रास्वपाका केही कार्यकर्ताले पार्टी कार्यालयमा धर्नासमेत दिएका थिए । त्यसपछि पार्टीले उनलाई हुम्लाबाटै प्रत्यक्ष उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपाका एक नेताले टासीको विषयमा नेतृत्वले असंगत निर्णय गरेको टिप्पणी गरे । उनले भने, ‘समानुपातिकतर्फ विवादित ठहर गरेर हटाइयो, तर प्रत्यक्षतर्फ टिकट दिँदा चाहिँ उनी कसरी विवादित रहिनन् ?’
टासीलाई प्रत्यक्ष उम्मेदवार बनाउने निर्णयसँगै रास्वपाको आन्तरिक निर्णय प्रक्रिया र मापदण्डमाथि पुनः प्रश्न उठ्न थालेको छ।
