६ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व परिवर्तन भएसँगै सुदूरपश्चिम प्रदेशमा निवर्तमान सभापति शेरबहादुर देउवापक्ष टिकट वितरणमा खुम्चिएको छ ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवा पक्षले पाँच क्षेत्रमा मात्रै टिकट पाएको छ ।
सुदूरपश्चिममा देउवाका विश्वासपात्र मानिने एनपी साउदसँगै नेताहरू नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले मात्रै प्रत्यक्षतर्फको टिकट पाएका छन् ।
कांग्रेसले देउवाका विश्वासपात्र पूर्वगृहमन्त्री रमेश लेखकलाई टिकटबाट वञ्चित गरेको छ । उनी कञ्चनपुर–३ बाट आकांक्षी थिए ।
तर, अन्तिम समयमा सभापति गगन थापाले भर्खरै सम्पन्न विशेष महाधिवेशनको पक्षमा खुलेका कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद बोहरालाई टिकट दिएका छन् ।
पार्टीको संसदीय बोर्डले कैलाली–४ मा टिकट दिए पनि सुदूरपश्चि प्रदेश सभापति वीरबहादुर बलायर चुनाव लड्न इच्छुक भएनन् ।
बलायरले टिकट लिन इच्छा नदेखाएपछि बोर्डले देउवानिकट विष्टलाई उम्मेदवार बनाएको हो । उनी जनसम्पर्क समिति अमेरिकाका सभापति हुन् ।
कैलाली–५ मा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सिफारिस गरिएको थियो । तर, यो क्षेत्रमा प्रदेश महामन्त्री नरनारायण शाहलाई टिकट दिइएको छ ।
यस्तै निवर्तमान सभापति शेरबहादुर देउवाले उम्मेदवार नबन्ने बताएपछि डडेल्धुराबाट निवर्तमान केन्द्रीय सदस्य महरले टिकट पाएका छन् ।
सुदूरपश्चिमका १६ मध्ये ११ निर्वाचन क्षेत्रबाट सभापति थापानिकटले टिकट पाएका छन् ।
यी हुन् सुदूरपश्चिमका उम्मेदवारहरू
जिल्ला/क्षेत्र | उम्मेदवारको नाम |
बाजुरा | जनकराज गिरी |
अछाम–१ | भरतकुमार स्वार |
अछाम–२ | पुष्पबहादुर शाह |
डोटी | भरतबहादुर खड्का |
बैतडी | चतुरबहादुर चन्द |
दार्चुला | धर्मानन्द जोशी |
बझाङ | प्रकाश रसाइली ‘स्नेही’ |
डडेल्धुरा | नैनसिंह महर |
कैलाली–१ | जनकराज चौधरी |
कैलाली–२ | विजयबहादुर स्वार |
कैलाली–३ | भीम बडुवाल |
कैलाली–४ | गोरखबहादुर विष्ट |
कैलाली–५ | नरनारायण शाह |
कञ्चनपुर–१ | गोपीप्रसाद उपाध्याय |
कञ्चनपुर–२ | एनपी साउद |
कञ्चनपुर–३ | हरिप्रसाद बोहरा |
