विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ को निर्वाचनको अन्तिम फैसला जनताले गर्ने बताएका छन् । झापाको दमकमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले जनताको निर्णय सुन्न आफू पुनः चुनावी मैदानमा उत्रिएको स्पष्ट पारे ।
‘घर भत्काएर मात्रै देश बन्छ ? देश जलाउनेहरूबाट देश जोगाउन र विकासको बाटोमा अघि बढाउन म फेरि झापा–५ बाट उम्मेदवार बनेको हुँ,’ ओलीले भने ।
अध्यक्ष ओलीले एमाले पारदर्शी पार्टी भएकै कारण विभिन्न हल्ला र चर्चा हुने गरेको बताए । ‘हाम्रामा छलफल हुन्छ, तर्क–वितर्क हुन्छ, त्यसैले कुरा बाहिर आउँछ । अरूले के गर्छन् थाहा नै हुँदैन,’ उनले भने ।
उनले आसन्न निर्वाचनका लागि टिकट वितरण पनि पारदर्शी ढंगले गरिएको दाबी गरे । ‘पार्टीले तौलिएर नै टिकट दिएको हो । तौल पुग्नुपर्यो नि ! लाखौँ कार्यकर्ता भएको पार्टीमा एक–दुई जना अराजक हुनु ठूलो विषय होइन,’ ओलीको भनाइ थियो ।
अध्यक्ष ओलीले केही स्थानमा अन्य पार्टीसँग चुनावी तालमेल हुन सक्ने संकेत पनि गरे । कांग्रेससँग गठबन्धन हुने हो भन्ने प्रश्नमा उनले ‘गठबन्धनभन्दा पनि चुनावी तालमेल’ उपयुक्त शब्द हुने बताए । यद्यपि झापा–३ मा राप्रपासँग तालमेल हुने विषयमा भने कुनै छलफल नभएको उनले स्पष्ट पारे ।
ओलीले आफूलाई भिलेन करार गर्न खोजिएको दाबी गर्दै केही मानिसहरू एमालेले गरेको विकासबाट आत्तिएको आरोप लगाए । ‘अहिले अकबरे खोर्सानी बेच्नेले पनि करोडौँ कमाइरहेका छन्, तर केही भएन भनेर निराश हुनु हुँदैन,’ उनले भने ।
उनले काम नगरी गुनासो मात्रै गरेर नहुने उल्लेख गर्दै थपे, ‘अन्य देशमा मात्रै सुन फल्छ ? खेत बाँझै राखेर कसरी हुन्छ ? गर्न त पर्यो नि !’
