काठमाडौं — नेपाली कांग्रेसका नेता सुनिल शर्माले मोरङ निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने भएका छन्।
कांग्रेसले उनलाई सोमबार मोरङ–३ को टिकट प्रदान गरेको हो। शर्माले टिकट पाएसँगै निर्वाचन तयारी तीव्र बनाएका छन्।
विशेष महाधिवेशनमा सहभागी भई सम्बोधन गरेका शर्मा नेतृत्व चयनको मतदान प्रक्रियामा भने सहभागी थिएनन्। तर, त्यही समयमा सानेपामा भएको पार्टी बैठकमा भने उनी उपस्थित थिए।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता दिएपछि शर्मा निरन्तर रूपमा कांग्रेसभित्र एकतामा जोड दिँदै आएका छन्। उनले कांग्रेसीहरू एक भएर अघि बढ्नुपर्ने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
सुनिल शर्माको उम्मेदवारीसँगै मोरङ–३ मा कांग्रेसको चुनावी प्रतिस्पर्धा थप चर्किने देखिएको छ।
