काठमाडौं — नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पत्र लेख्दै पार्टी परित्याग गरेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।
अन्सारी जनकपुरमा आयोजित रास्वपाको ‘परिवर्तन उद्घोष सभा’मार्फत औपचारिक रूपमा पार्टीमा आबद्ध भएका हुन्।
पार्टी प्रवेशसँगै उनले मधेश प्रदेश सभाबाट पनि राजीनामा दिएको जानकारी दिएका छन्। अन्सारीले रास्वपाले परिवर्तनको स्पष्ट सङ्कल्प लिएर अघि बढेकाले आफू अभियानमा जोडिएको बताए।
“अबको परिवर्तन रास्वपाबाट मात्रै सम्भव छ,” उनले कार्यक्रममा भने।
उनले रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको दाबीसमेत गरे।
अन्सारी आगामी निर्वाचनमा बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने तयारीमा रहेको पनि बताएका छन्।
रहबर अन्सारी रास्वपामा प्रवेश गरेसँगै मधेश प्रदेशको राजनीतिक समीकरण थप परिवर्तन हुने संकेत देखिएको छ।
