इनरुवा — प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोटमै अल्झिएको नेकपा एमाले सुनसरीमा फेरि अर्को भद्रगोल अवस्था सिर्जना भएको छ। जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतकै उम्मेदवारी सुरक्षित नहुँदा जिल्लाको राजनीतिक वातावरण थप तरंगित बनेको छ।
क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने गरी काठमाडौंबाट टिकट लिएर इनरुवा आएका कुसियैतको क्षेत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार अब्दुल हुसेन अन्सारीलाई अर्को टिकट दिएर पठाएका छन्। यसले स्थानीय कार्यकर्ता र नेताहरूबीच असन्तुष्टि बढाएको छ।
ओलीले कुसियैतलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार हुन टेलिफोनमार्फत आग्रह गरेका थिए। तर सो क्षेत्रमा प्रदेश मन्त्रीसमेत रहेका रेवतीरमण भण्डारी उम्मेदवार बन्ने तयारीमा रहेका छन्। भण्डारी प्रदेशसभा सदस्यबाट राजीनामा दिन विराटनगर जाँदै गर्दा मुख्यमन्त्री हिक्मत कार्कीले तत्काल राजीनामा नदिन आग्रह गरेपछि उनी अहिले दोधारमा परेका छन्।
यता कुसियैत भने आफू क्षेत्र नम्बर ४ बाटै उम्मेदवार हुनुपर्ने अडान राख्दै झापामा रहेका अध्यक्ष ओलीलाई निरन्तर ताकेता गरिरहेका छन्।
क्षेत्र नम्बर ४ बाट टिकट पाएका अब्दुल हुसेन अन्सारी एमालेको साधारण सदस्यसमेत नभएको खुलेको छ। उनी सुनसरीको भोक्राहा गाउँपालिकाका बासिन्दा हुन्। २०७० सालको निर्वाचनमा तमलोपाबाट उम्मेदवार हुँदा उनले जम्मा २४६ मत प्राप्त गरेका थिए।
एमाले ४ नम्बर क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष अजय कुसियैतका अनुसार, जिल्ला इन्चार्ज कुसियैतकै टिकट असुरक्षित हुँदा अन्य क्षेत्रका उम्मेदवारी व्यवस्थापन पनि प्रभावित हुने खतरा बढेको छ। उनका अनुसार क्षेत्र नम्बर २ मा भण्डारी र ४ मा कुसियैत बाहेक अन्य उम्मेदवार बनाउनु जोखिमपूर्ण हुनेछ।
यसअघि क्षेत्र नम्बर १ मा उम्मेदवार बनाइएका सूर्यप्रकाश पन्धाकको सट्टा टीकाराम माङ्लेन लिम्बुको नाम तय गरिएको छ। क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा विजयी भीम आचार्य सुरुदेखि नै उम्मेदवार बन्न इच्छुक नरहेको बुझिएको छ।
एमाले सुनसरीको उम्मेदवार छनोट प्रक्रिया पार्टीभित्रकै विवाद र असन्तुष्टिका कारण थप जटिल बन्दै गएको छ।
