काठमाडौं, ५ माघ — नेपाली कांग्रेसका नेता तथा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आशन्न निर्वाचन नलड्ने निर्णय गरेका छन्। पार्टीभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उनले २१ फागुनमा हुन गइरहेको निर्वाचनबाट अलग रहने निर्णय गरेका हुन्।
खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिसमा परेका थिए। तर उनीनिकट स्रोतका अनुसार खड्काले यसपटक उम्मेदवार नबन्ने निश्चित गरेका छन्।
खड्कानिकट एक नेताले युक्टि टाइम्ससँग भने, “पूर्ण दाइ चुनाव लड्नुहुन्न। तर उहाँ देशभर चुनावी प्रचार–प्रसारमा सक्रिय भएर पार्टीलाई जिताउन लाग्नुहुन्छ।”
सर्वोच्च अदालतमा दायर मुद्दामा जुनसुकै फैसला आए पनि कांग्रेसलाई एकताबद्ध राख्ने प्रतिबद्धता खड्काले आफूनिकट नेताहरूसँग व्यक्त गरेका छन्।
“अदालतको निर्णय गगन थापाको पक्षमा आए सबैलाई मिलाएर पार्टी एकढिक्का बनाउने, र संस्थापन पक्षमा निर्णय आए गगन पक्षलाई पनि समेटेर कांग्रेसलाई एकढिक्का बनाउने उहाँको धारणा छ,” ती नेताले बताए।
खड्काको यो निर्णयलाई कांग्रेसभित्रको आन्तरिक एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ।
