ताप्लेजुङ — नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई दुई पटक निर्वाचित भएको ताप्लेजुङ निर्वाचन क्षेत्रमा यसपटक राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवेले टिकट पाएका छन्।
आइतबार टिकट बोकेर थेवे ताप्लेजुङतर्फ प्रस्थान गरेको एमाले जिल्ला कमिटी ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिए। जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुले पनि थेवेले टिकट पाएको पुष्टि गर्दै उनलाई जिताउन अपिल गरेका छन्।
यसअघि एमालेले सार्वजनिक गरेको उम्मेदवारको सूचीमा ताप्लेजुङ क्षेत्र खाली राखिएको थियो। पछिल्लो निर्णयअनुसार केन्द्रबाट थेवेले टिकट पाएका हुन्।
जिल्ला कमिटी अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे काठमाडौंमा उपचार तथा आरामरत रहेकाले थेवेले फोनमार्फत आफूले टिकट पाएको जानकारी गराउँदै मनोनयन दर्ता र चुनावी अभियानका लागि जिल्ला हिँडेको बताएका छन्।
सिरिजङ्गा गाउँपालिका–१, सिनाम निवासी थेवे निवर्तमान सांसद उर्मिला थेवे तथा संविधानसभा सदस्य भूपेन्द्र थेवेका कान्छा छोरा हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिन्छन्।
यसअघि जिल्ला कमिटी बैठकले उपमहासचिव योगेश भट्टराई, क्षितिज थेवे र कोशी प्रदेश सांसद तिलकुमार मेन्याङ्बोको नाम सिफारिस गरेको थियो।
अब आधिकारिक रूपमा क्षितिज थेवे उम्मेदवार बनेसँगै ताप्लेजुङको राजनीतिक प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।
