काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले यसपटकको आमनिर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन्। राजनीतिक कारण देखाउँदै उनले निर्वाचन प्रक्रियाबाट टाढा रहने निर्णय गरेका हुन्।
यसअघिको प्रतिनिधिसभा निर्वाचनमा बाँकेको क्षेत्र नम्बर २ बाट निर्वाचित राणा यसपटक कतैबाट पनि उम्मेदवारका रूपमा सिफारिस भएका छैनन्। उनले चुनाव नलड्ने पूर्वघोषणा गरिसकेकाले सिफारिस सूचीमा नपरेको जनाइएको छ।
युक्ति टाइम्ससंगको कुराकानीमा राणाले राप्रपाले अघि सारेका एजेन्डालाई वर्तमान निर्वाचनले कुनै ठोस आधार दिन नसक्ने धारणा व्यक्त गरे।
उनले भने, ‘हामीले बोकेको राजसंस्था लगायतका एजेन्डा यो चुनावबाट स्थापित हुने अवस्था छैन। केवल तलब–सुविधाका लागि पटक–पटक सांसद बन्नुको औचित्य नदेखेर यसपटक चुनावमा भाग नलिने निर्णय गरेको हुँ।’
राणा राप्रपाको आगामी महाधिवेशनमा अध्यक्षका प्रत्याशीसमेत हुन्। पार्टीभित्र उनी संस्थापन पक्षसँग आन्तरिक संघर्षमा रहँदै आएका छन्। यसपटक चुनाव नलडे पनि आगामी दिनमा राजनीतिक यात्राबारे भने अझै निर्णय भइनसकेको उनको भनाइ छ।
यसअघि राणा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर रहिसकेका छन्। उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए। त्यस्तै, २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा बाँकेबाट नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भएका थिए।
