काठमाडौं । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ–१ निर्वाचन क्षेत्रबाट टिकट दिएको छ।
यसअघि तामाङले काठमाडौं–२ वा ९ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी थिइन्। तर उक्त निर्णयबाट पछि हट्दै उनी रास्वपाको तर्फबाट धादिङ–१ मा उम्मेदवार बनेकी हुन्। उनको जन्मथलो समेत धादिङ नै हो।
रास्वपामा आबद्ध हुनुअघि तामाङले जेन–जी आन्दोलनका घाइतेहरूको मुद्दालाई प्रमुख एजेन्डाका रूपमा अघि सारेकी थिइन्। सो प्रस्तावअनुसार तीन जना जेन–जी घाइतेलाई रास्वपाको समानुपातिक बन्दसूचीमा समेटिने तथा केन्द्रीय समितिमा समेत समावेश गर्ने सहमति भएको जनाइएको छ।
सरसफाइ लगायत विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएकी तामाङले जर्मनीको बसाइ त्यागेर चुनाव लड्ने उद्देश्यसहित नेपाल फर्किएकी हुन्। उनले धादिङ जिल्लामा विभिन्न सामाजिक कार्यहरू गर्दै आएकी छन्।
रास्वपाले आशिका तामाङको उम्मेदवारीले स्थानीय मुद्दा, सामाजिक न्याय र युवाका सवाललाई संसद्मा बलियो रूपमा उठाउने विश्वास व्यक्त गरेको छ।
