पूर्वयुवराज पारस शाह र काठमाडौँ महानगरपालिकाको मेयर पदबाट आजै राजीनामा दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह जनकपुरघामस्थित एकै होटलमा बसेका छन्।
दुवै जना जनकपुरको यात्री निवास होटलमा बसेका हुन्। होटल स्रोतका अनुसार पारस शाह बेलुकी ९ बजे होटलमा प्रवेश गरेका थिए भने बालेन शाह साँझ पौने ५ बजे नै होटलमा आएका थिए।
पूर्वयुवराज पारस शाहले पारिवारिक कामको सिलसिलामा जनकपुर आएको बताएका छन्। होटलका कर्मचारीहरूसँगको कुराकानीमा उनले केही दिन जनकपुरमै बस्ने जानकारी दिएको स्रोतले जनाएको छ।
उता बालेन शाह भने आसन्न निर्वाचनको तयारीका सन्दर्भमा जनकपुर पुगेका हुन्। उनले स्थानीय नेता–कार्यकर्ता र समर्थकहरूसँग भेटघाट तथा राजनीतिक गतिविधि गर्ने कार्यक्रम रहेको बताइएको छ।
उल्लेखनीय छ, यात्री निवास होटल वृहत्तर जनकपुर विकास समितिको स्वामित्वमा रहेको छ भने यसको व्यवस्थापन सोल्टी बिजिनेस ग्रुपले गर्दै आएको छ।
एकै होटलमा दुई चर्चित व्यक्तित्वको उपस्थितिले जनकपुरमा राजनीतिक तथा सामाजिक चासो बढाएको छ।
