दमक
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट उम्मेदवारी मनोनयन गर्न आज झापा जाँदै छन्।
अध्यक्ष ओली बिहान १०ः२५ बजे काठमाडौँबाट उडान भरी भद्रपुर विमानस्थलमा अवतरण गर्ने कार्यतालिका रहेको पार्टी केन्द्रीय सदस्य तुलसी कार्कीले जानकारी दिए। भद्रपुर पुगेपछि ओलीले झापा क्षेत्र नम्बर १ का नेता–कार्यकर्तासँग संक्षिप्त छलफल गर्नेछन्। सोही क्रममा क्षेत्र नम्बर ३ को निर्वाचन तयारीबारे पनि भद्रपुरमै जानकारी लिने कार्यक्रम तय भएको छ।
क्षेत्र नम्बर २ को अवस्था र तयारीबारे अध्यक्ष ओलीले विर्तामोडमा जानकारी लिनेछन् भने क्षेत्र नम्बर ४ को निर्वाचन तयारीका सन्दर्भमा सुरुंगामा छलफल गर्ने कार्यक्रम रहेको छ। त्यसपछि उनी आफ्नो निर्वाचन क्षेत्र दमक पुगेर स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्नेछन्।
यसैबीच अध्यक्ष ओलीले जेन्जी विध्वंसका क्रममा जलाइएको दमकस्थित आफ्नै निवास पनि जाने कार्यतालिका बनेको छ।
उम्मेदवारी मनोनयनअघि जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा जानकारी लिने ओलीको कार्यक्रमलाई एमालेले झापामा चुनावी तयारीलाई तीव्र बनाउने रणनीतिका रूपमा हेरेको छ।
