नेकपा एमाले र नेपाल परिवार दलबीच आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी तालमेल हुने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल परिवार दलका संस्थापक एकनाथ ढकालबीच हिजो चार बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।
दुई दलबीच राष्ट्रियता, विकास, लोकतन्त्र, शान्ति र संविधानको संरक्षणका लागि सहकार्य गर्ने उल्लेख सहमतिपत्रमा छ। विगतदेखि हुँदै आएको राजनीतिक सहकार्यलाई आगामी निर्वाचनमा पनि निरन्तरता दिने दुवै पक्षको सहमति भएको जनाइएको छ।
सहमतिपत्रको पहिलो बुँदामा नेपाल परिवार दलले नेकपा (एमाले) का उम्मेदवारहरूलाई समर्थन गर्ने उल्लेख छ। त्यसको सट्टामा एमालेले उपयुक्त समयमा नेपाल परिवार दलको संघीय संसद तथा प्रदेश सभामा प्रतिनिधित्व गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
दोस्रो बुँदाअनुसार संसदबाहिर नेपाल परिवार दलले स्वतन्त्र राजनीतिक अस्तित्व कायम राख्नेछ भने संसदभित्र भने नेकपा (एमाले) को संसदीय दलमा आबद्ध रहने व्यवस्था गरिएको छ।
सहमतिपत्रमा उल्लेख नगरिएका विषयहरू आपसी छलफल र सहमतिमार्फत टुंगो लगाइने पनि जनाइएको छ।
नेपाल परिवार दलका संस्थापक एकनाथ ढकाल यसअघि एमालेको समर्थनमा समानुपातिक सांसद बनेका थिए। ढकाल नेपालमा युनिफिकेसन चर्च सञ्चालन गर्दै आएका व्यक्ति हुन्। केही वर्षअघि उनको संस्थाले कोरियाली धर्मगुरूलाई नेपाल बोलाएर राजनीतिज्ञहरूलाई कथित ‘होलीवाइन’ पिलाएको घटनापछि उनी विवादमा परेका थिए।
