फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुरुमा पेश गरेको समानुपातिक बन्दसूचीमा व्यापक संशोधन गरेको छ। पार्टीले पेश गरेको १ सय १० जनाको बन्दसूचीमा विभिन्न क्लष्टरमा उल्लेखनीय हेरफेर गरिएको हो।
संशोधित बन्दसूचीअनुसार खस आर्य महिलातर्फ पार्टी नेता तथा पूर्वमन्त्री देवेन्द्र पौडेलकी पत्नी बलावती शर्मालाई पहिलो नम्बरमा राखिएको छ। यसअघि उक्त क्लष्टरको पहिलो नम्बरमा रहेकी करुणा बस्नेतलाई संशोधनपछि आठौँ नम्बरमा झारिएको छ। सुरुमा बन्दसूचीमा नाम नै नरहेकी शर्मालाई पहिलो नम्बरमा ल्याइएपछि पार्टीभित्रै चर्चाको विषय बनेको छ।
यस्तै, यसअघि नवौँ नम्बरमा रहेकी दिलकुमारी पन्तलाई दोस्रो नम्बरमा तानिएको छ। उनी तत्कालीन नेकपा (एकीकृत समाजवादी) की नेतृ हुन्। तेस्रो नम्बरमा कमला नहर्कीलाई राखिएको छ भने चौथो नम्बरमा उमाकुमारी शर्माको नाम समेटिएको छ। यसअघि चौथो नम्बरमा रहेकी पञ्चा सिंहलाई बन्दसूची संशोधनसँगै हटाइएको छ।
स्रोतका अनुसार यसअघि दोस्रो नम्बरमा रहेकी उमाकुमारी शर्मालाई उनका श्रीमान् प्रकाश अधिकारीले प्रत्यक्षतर्फ दाबी गरेकाले प्यूठानमा मिलान गर्न समानुपातिकतर्फ व्यवस्थापन गरिएको हो। पाँचौँ नम्बरमा चितवन जिल्ला पार्टी संयोजक आरसी अधिकारीकी पत्नी निशा न्यौपानेको नाम राखिएको छ। उच्च स्रोतका अनुसार रेणु दाहाललाई निर्वाचन जिताउने रणनीतिअन्तर्गत न्यौपानेलाई समानुपातिक सूचीमा समेटिएको हो।
पुरुषतर्फ खस आर्य क्लष्टरको पहिलो नम्बरमा भने तत्कालीन नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेशकुमार हमालको नाम यथावत् राखिएको छ।
दलित क्लष्टरतर्फ पहिलो नम्बरमा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का सचिव गणेश विश्वकर्माको नाम कायम छ। दोस्रो नम्बरमा रहेका डा. मित्र परियारलाई तेस्रो नम्बरमा झारिएको छ भने यसअघि तेस्रो नम्बरमा रहेका शंकर दुलाल दोस्रो नम्बरमा उक्लिएका छन्। दलित अभियन्ता मित्र परियार हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पदबाट निलम्बनमा परेपछि नेकपा प्रवेश गरेका थिए।
दलित महिलातर्फ पहिलो नम्बरमा पार्वती विकको नाम राखिएको छ। स्रोतका अनुसार जाजरकोटमा शक्ति बस्नेतलाई निर्वाचन जिताउने व्यवस्थापनमा सक्रिय रहेकै कारण विकलाई पहिलो नम्बरमा राखिएको बुझिएको छ।
पार्टीको बन्दसूची संशोधनले आन्तरिक शक्ति सन्तुलन र आगामी निर्वाचन रणनीतिलाई स्पष्ट पारेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ।8
