प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको छ। सार्वजनिक सूचीअनुसार दलित क्लष्टरअन्तर्गत पुरुषतर्फ सन्तोष परियार र महिलातर्फ दुर्गा सोब पहिलो नम्बरमा समेटिएका छन्।
प्रलोपा अध्यक्ष परिषद्का सदस्य रहेका परियार र सोब पार्टीका प्रमुख नेतामध्ये पर्दछन्। पार्टी संरक्षक डा. बाबुराम भट्टराई रहेको प्रलोपाको अध्यक्ष परिषद्मा सुदन किराती, ओजस्वी भट्टराई र सुरेन्द्रप्रसाद जैसवाल पनि सदस्य रहेका छन्।
समानुपातिक सूचीको पहिलो नम्बरमा पार्टीका मुख्य नेताहरूलाई प्राथमिकता दिइएको प्रलोपाले जनाएको छ। सन्तोष परियार यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट दलित क्लष्टरकै समानुपातिक सांसद बनेका थिए।
प्रलोपाले समावेशी प्रतिनिधित्वलाई केन्द्रमा राख्दै समानुपातिक सूची तयार गरिएको दाबी गरेको छ। आगामी निर्वाचनमा पार्टीको उपस्थितिलाई प्रभावकारी बनाउने रणनीतिअनुसार उम्मेदवार छनोट गरिएको नेताहरूको भनाइ छ।
