५ माघ, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका ८९ लाख १७ हजार थान मतपत्र छापिने काम सकिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका अनुसार भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रले पछिल्ला २४ घण्टामै १३ लाख १४ हजार मतपत्र छपाइ गरेको छ।
आयोगले यो निर्वाचनका लागि कुल २ करोड ८ लाख ३० हजार थान मतपत्र छाप्ने लक्ष्य राखेको छ। मतदान केन्द्र र सम्भावित बिगोका कारण मतदाताको संख्याभन्दा केही बढी मतपत्र छपाइ हुने व्यवस्था रहन्छ।
हालसम्म १ करोड १९ लाख १३ हजार मतपत्र छाप्न बाँकी रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार हालसम्म २० हजार ८३० बाकस बराबरका मतपत्र प्याकिङ भइसकेका छन्। अझ १४ हजार ४२० बाकस बराबरका मतपत्र प्याकिङ गर्न बाँकी छ।
केन्द्रले नमूनाका रुपमा १० लाख ९८ हजार २ सय मतपत्र आयोगलाई पठाइसकेको छ।
समानुपातिकतर्फको मतपत्र छपाइ सकिएपछि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गरिनेछ|
फागुन २१ को निर्वाचन आउन अब ४५ दिन बाँकी छ।
