४ माघ, हेटौंडा । पञ्चायतदेखि गणतन्त्रसम्म सत्ता यात्रामा नौपटक मन्त्री बन्न सफल कमल थापा यसपटक गृहजिल्ला मकवानपुर छाडेर काठमाडौंबाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले थापालाई काठमाडौं–५ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो। राप्रपाले काठमाडौंका ६ क्षेत्रमा उम्मेदवारको सूची टुंगो लगाउँदा थापा मकवानपुर छाडेर राजधानीमा जाने निश्चित भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
६ पटक पराजय, एक जीत
२०४७ यताका सात मध्ये ६ पटक मकवानपुरबाट चुनाव हारेका थापा एकपटक मात्र २०५१ को मध्यावधि चुनावमा विजयी भएका थिए। पछिल्ला निर्वाचनमा उनी नेकपा एमालेसँग तालमेल गरी सूर्य चिह्न लिएर प्रतिस्पर्धा गरे पनि आफ्नै राजनीतिक शिष्य मानिने दीपक सिंहसँग पराजित भएका थिए। आगामी चुनावमा दीपक सिंह नै मकवानपुरबाट राप्रपाको उम्मेदवार बन्ने भएकाले थापा राजधानीतिर सरेका हुन्।
राजनीतिक उतार–चढाव र राप्रपा एकता
२०७९ मा निर्वाचन हारेपछि थापाले राप्रपा विभाजन गरी ‘राप्रपा नेपाल’ खोलेका थिए। तर पछिल्लो समय संवैधानिक राजासहितको प्रजातन्त्र, हिन्दूराज्य र संघीयता खारेजीको एजेन्डामा राप्रपा सँग एकता गर्दै पुनः मुख्यधार राजनीतिमा फर्किएका छन्।
मकवानपुरमा दीर्घ राजनीतिक छाप
थापाले लामो समय मकवानपुरलाई आफ्नो राजनीतिक आधार बनाएका थिए। मन्त्री भएर हेटौंडाको विद्युत, खानेपानी, सडक लगायत पूर्वाधार विकासमा भूमिका खेलेको मानिन्छ। २०७२ मा बागमती प्रदेशको अस्थायी राजधानी हेटौंडा घोषणाको पहल पनि थापाकै पहलबाट भएको थियो।
नौपटक मन्त्री, तीनपटक उपप्रधानमन्त्री
२०५१ यताका सरकार परिवर्तनमा थापा नौपटक मन्त्री र तीनपटक उपप्रधानमन्त्री भइसकेका छन्। पञ्चायत कालमा पनि निर्वाचन लडेका उनी २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रको शासनमा शक्तिशाली गृहमन्त्री बनेका थिए।
अहिलेको प्रश्न
थापा अब राजधानी केन्द्रित प्रतिस्पर्धामा उत्रिएका छन्। लामो समयको राजनीतिक उतार–चढावपछि काठमाडौं–५ बाट हुने आठौं प्रयास कति सफल हुन्छ भन्ने मतदाताको निर्णयमा निर्भर छ।
