काठमाडौँ — आसन्न प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि खुलाइएको निर्वाचन प्रहरी भर्नामा करिब दुई लाखले आवेदन दिएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीमार्फत कुल १ लाख ४९ हजार ९० जना भर्ना गर्ने तयारी गरिएकोमा १ लाख ९६ हजार ४७० जनाले दरखास्त दिएका छन्।
नेपाल प्रहरी अन्तर्गत १ लाख ३३ हजार ९८० जना तथा एपीएफ अन्तर्गत १५ हजार ११० जना परिचालन गर्ने लक्ष्य राखिएको थियो। आवेदन दिने मध्ये विगतमा म्यादी प्रहरी भई काम गरेका २६ हजार ६३१, पूर्वप्रहरी ६७४, पूर्वसेना १ हजार ६७३, पूर्वसशस्त्र २२८ र पूर्ववन रक्षक १५३ छन्। बाँकी १ लाख ६७ हजार ५७ सर्वसाधारण छन्।
कम आवेदन परेका ३६ जिल्लामा दरखास्त म्याद ३ माघसम्म बढाइएपछि आज (माघ ५) देखि छनोट प्रक्रिया सुरु हुँदैछ। गृह मन्त्रालयले निर्वाचन प्रहरीका लागि ४० दिन कार्यअवधि तोकेर कार्यविधि जारी गरिसकेको छ।
चुनाव सुरक्षामा ३ लाख ३७ हजार जनशक्ति
२१ फागुनमा तय निर्वाचन सुरक्षामा करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी योजना स्वीकृत भइसकेको छ। नियमिततर्फ सेना, प्रहरी र सशस्त्र परिचालन गरिनेछ भने अपुग जनशक्ति निर्वाचन प्रहरीमार्फत पूर्ति गरिनेछ।
तलब, भत्ता र सुविधा
निर्वाचन प्रहरीले प्रहरी र सशस्त्रका जवानसरह तलब, रासन, पोसाक भत्ता तथा यातायात र खाजा खर्च पाउनेछन्। कार्यविधिअनुसार दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनमा ३४ हजार रुपैयाँ तलब तथा जिल्ला दरअनुसार रासन भत्ता उपलब्ध हुनेछ। सम्पूर्ण रकम भुक्तानी निर्वाचन प्रहरीको बैंक खातामा पठाइनेछ।
कर्तव्य पालनाका क्रममा घाइते वा मृत्यु भए तोकिएको क्षतिपूर्ति उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ।
योग्यता र मापदण्ड
भर्नाका लागि १८ देखि ५४ वर्ष उमेरको नेपाली नागरिक, साधारण लेखपढ जान्ने, कुनै दलको सदस्य नरहेको, आतंककारी वा विध्वंसात्मक गतिविधिमा संलग्न नरहेको र शारीरिक तथा मानसिक रुपमा सक्षम हुनुपर्ने मापदण्ड तोकिएको छ। पुरुषका लागि ५ फिट उचाइ, ५० केजी तौल, छाती ३१–३३ इन्च र महिलाका लागि ४ फिट १० इन्च उचाइ तथा ४२ केजी तौल आवश्यक थियो।
मतदान स्थल र सुरक्षा घेरा
निर्वाचन आयोगले देशभर १० हजार ९६७ मतदान स्थल र २३ हजार ११२ मतदान केन्द्र तोकेको छ। सुरक्षाका लागि भित्री घेरामा प्रहरी र निर्वाचन प्रहरी, त्यसपछि जोखिमका आधारमा सशस्त्र र बाहिरी घेरामा सेना परिचालन गरिनेछ।
