आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलहरूले निर्वाचन आयोगसँग आग्रह गरेका छन् ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलहरूले हाल माघ ६ गतेका लागि तय गरिएको मनोनयन दर्ताको समय माघ १५ देखि माघ मसान्तसम्म सार्न माग गरेका हुन् ।
यद्यपि मनोनयन दर्ताको समयसिमा सार्ने विषयमा आयोगले हालसम्म कुनै निर्णय नगरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् । युक्ति टाइम्ससंग कुरा गर्दै उनले भने, ‘लगभग सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट कम्तीमा एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म पुर्याउन अनुरोध गरेका छन् ।
यस विषयमा आयोगभित्र आन्तरिक छलफल भइरहेको छ, तर अहिलेसम्म निर्णय भएको छैन ।’
स्रोतका अनुसार औपचारिक निर्णय नभए पनि परिस्थितिलाई हेर्दा मनोनयन दर्ताको समय बढीमा एक हप्ता सर्न सक्ने सम्भावना रहेको छ ।
मनोनयन दर्ताको समय परिवर्तन भए त्यसले दलहरूलाई उम्मेदवार छनोट तथा तयारीका लागि थप समय दिने अपेक्षा गरिएको छ ।
